Header Ads Widget

Responsive Advertisement

अखिल क्रान्तिकारीको चुनावमा फेरि लफडा, गन्दागन्दैको मतमा प्रतिनिधिले खन्याइदिए पानी

 नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चुनावको मतगणनाका क्रममा फेरि लफडा भएको छ । मतगणनाका क्रममा प्रतिनिधिले मतपत्रमा पानी खन्याइदिएपछि लफडा भएको हो ।

मधेश प्रदेशमा जारी मतगणना विवादका कारण रोकिएको छ । मधेशमा १५९ मत खसेको थियो । गणनाका क्रममा १५४ मत मात्र भेटिएपछि विवाद सुरु भएको हो ।


अध्यक्षका उम्मेदवार हेमन्त राई पक्षका एक विद्यार्थी नेताले शिलापत्रलाई भने, ‘मधेश प्रदेशमा १ सय ५९ मत खसेको थियो । तर, पाँचवटा मत कम भएपछि विवाद सुरु भएको हो । विवादका बीच महासचिवका उम्मेदवार सञ्जय महतोको मान्छेले मतपेटिकामा पानी खन्याएका छन् । उनीहरू आफूहरू कमजोर भएपछि विवादमा उत्रेका छन् ।’

मधेश प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, विजयप्रकाश शर्मा सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् । पाँच मत कम भेटिएपछि विवाद बढेको थियो । अब के गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा महतो पक्षले पानी खन्याएको ती विद्यार्थी नेताको दाबी छ, जसका कारण पुनः निर्वाचन गर्ने माग बढेको छ ।

अहिले दुवै पक्षले पुनः चुनाव हुनुपर्ने माग गरेका छन् । मतगणना स्थगित भएसँगै निर्वाचन समितिले अहिले सिलबन्दी गरेर राखेको छ ।

Post a Comment

0 Comments